पौष ५ । खाद्य ऐन विपरीत खाद्यान्न तथा पेय पदार्थ बिक्री गरेको भन्दै जिल्ला खाद्य निरीक्षण एकाई चितवनले २५ व्यवसायीविरुद्ध मुद्दा दर्ता गरेको छ ।
गएको एक वर्षमा २१ वटामात्रै मुद्दा चलाइएको चितवनमा यस पटक पहिलो चौमासिकमै २५ मुद्दा दर्ता भएको हो । जिल्लामा अनुगमनलाई तीव्रता दिइएकाले पहिलो चौमासिकमै यति धेरै मुद्दा दर्ता भएको चितवनका जिल्ला खाद्य निरीक्षक नवीन देउजाले बताउनुभयो ।
उहाँले अहिले व्यवसायी र विभिन्न कम्पनी गरी १५ वटाको विषयमा अनुसन्धान भइरहेकाले सरकारी वकिलको कार्यालयको रायसुझावको आधारमा मुद्दा चलाउने या नचलाउने निर्णय हुने बताउनुभयो ।
अहिले दायर गरिएको मुद्दा अधिकांश व्यवसायीविरुद्ध भएको र त्यसमा केही कम्पनीसमेत परेको उहाँले बताउनुभयो । खानेकुरामा अखाद्य रङ मिसाउने होटल व्यवसायी र मिति सकिएको पेय पदार्थ तथा बिस्कुट बिक्री वितरण गर्ने व्यवसायीहरूविरुद्ध खाद्य ऐनअनुसार मुद्दा चलाइएको हो ।
अघिल्लो एक वर्षमा १३७ नमुना सङ्कलन गरिएकामा ३७ नमुना खाद्य ऐन विपरीत थियो । जसमा २१ मुद्दा दर्ता गरिएको थियो ।



0 comments :
Post a Comment