१ पुस, काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ/आइएनजीओ)ले संवेदनशील क्षेत्रमा गतिविधि बढाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहतको राष्ट्रिय सतर्कता केन्द्रले अनुसन्धान थालेको छ । जातीय, क्षेत्रीय र धार्मिक तथा द्विपक्षीय सम्बन्धजस्ता क्षेत्रमा उनीहरुको संलग्नतालाई केन्द्रले अनुसन्धान घेरामा राखेको हो । केन्द्रले नियामक निकाय समाजकल्याण परिषद्मा पनि अनुसन्धान गरिरहेको छ । असोज १ गते ५ सदस्यीय टोली गठन गरी अनुसन्धानलाई तीब्रता दिइएको केन्द्रले जनाएको छ ।प्रहरी उपरीक्षक विजयकुमार श्रेष्ठको संयोजकत्वमा गठित समितिमा महालेखानियन्त्रणको कार्यालयका लेखाअधिकृत मनकुमार केसी, प्रहरी उपरीषकद्वय उपेन्द्र केसी र राजन थापा तथा महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका शाखा अधिकृत प्रमोद सिम्खडा छन् । ‘संवेदनशील विषय भएकाले एनजीओ र आईएनजीओका गतिविधिको सूक्ष्म अनुसन्धान गरिरहेका छौं,’ समितिका संयोजक श्रेष्ठले भने, ‘विस्तृत प्रतिवेदन तयार गरी आवश्यक कारबाहीको सिफारिससहित सरकारसमक्ष पेस गछौं, बाँकी कदम सरकारले चाल्नेछ ।’ अनुसन्धानका लागि तोकिएको समयावधि सकिन लागेकाले समय थप भए अनुसन्धानका लागि तोकिएको समयावधि सकिन लागेकाले समय थप भए अनुसन्धान प्रक्रियालाई अझै प्रभावकारी बनाउने योजना समितिको रहेको कारोबार दैनिकमा खबर छ ।
‘मुलुकको सार्वभौमिकतामाथि नै समस्या पर्ने गरी एनजीओ आइएनजीओले गतिविधि बढाउँदा पनि नीतिगत समस्याका कारण नियामक निकाय र सकारले कारबाही गर्न सकिरहेका छैनन्,’ समितिका अर्का सदस्य भन्छन्, ‘अनुसन्धानको अन्तिम प्रतिवेदनमा उनीहरुका शंकास्पद गतिविधि नियन्त्रण गर्न र कारबाही गर्न आवश्यक नीतिगत व्यवस्थाका बारे सरकारलाई सुझाव दिन्छौं ।’ केन्द्रले आफैं कारबाही प्रक्रिया अघि नबढाउने हुँदा सरकारलाई आवश्यक कारबाहीको सिफारिस गरिने उनले बताए ।


