HOME » » बोर्डिङ जस्तै सामुदायिक विद्यालय

बोर्डिङ जस्तै सामुदायिक विद्यालय

माधवकुमार ओली/ रोल्पा, मंसिर ३० – विद्यार्थीहरुले अग्रेंजी भाषाबाट पढ्ने मात्र होइन रातो ड्रेस, घाँटीमा टाई, बेल्ट, जुत्ता मोजा र छात्राहरुले कपालमा रातो रिबन सहित चिटिक्क परेको र कक्षाभित्र नेपाली बाहेक सबै विषयहरु अग्रेंजीमा पढाई भएको दृश्य देख्दा बाहिरबाट जाने जोकोहीले पनि त्यो बोर्डिङ स्कूल नै भन्ने सोच्दछ । अझ प्रत्येक हप्ता विभिन्न शीर्षकका शुक्रबारे कार्यक्रम, साप्ताहिक र मासिक रुपमा कक्षा जाँच त छँदैछ बालबालिकाहरु अग्रेंजी भाषामा दिइएको निर्देशन अनुसार नै पिटी परेड खेलिरहेका हुन्छन् । यी सबै दृश्य हेरेपछि जो कोहीले पनि सोच्छ, यो त बोर्डिङ स्कूल हो । तर त्यो कुनै बोर्डिङ स्कुल होइन ।

रोल्पाको एक सामुदायिक विद्यालयले अग्रेंजी माध्यमबाट पढाइ सुरु गरेपछि विद्यार्थीहरुको संख्यामा वृद्धि भएको छ । तर विद्यार्थी संख्या अनुसार शिक्षक दरबन्दी र कक्षा कोठा नहँुदा केही समस्या देखिएको छ । रोल्पा नुवागाउँ २ दहवनमा रहेको भगवती निम्न माध्यमिक विद्यालयमा अग्रेंजी भाषाबाट पढाई सुरु हुनुभन्दा पहिले विद्यार्थीको संख्या धेरै कम थियो । अंग्रेजी पढाउने उद्देश्यले अभिभावकहरुले छोराछोरीलाई घरदेखि टाढाको बोर्डिङमा पठाउनुपर्ने बाध्यतालाई मध्यनजर गरेर समय र  पैसाको सदुपयोग गर्दै समग्र गाउँलेलाई पछिसम्म फाइदा पुग्ने खालले अभिभावक र प्रधानाध्यापकको पहलमा विद्यालयले २०६६ सालबाट अग्रेंजी माध्यममा पढाई सुरु गरेपछि अहिले आफ्नो गाउँबाट विद्यार्थी बाहिर पढ्न जानेभन्दा पनि बाहिरका विद्यार्थी आउने क्रम बढेको २१ वर्षदेखि प्रधानाध्यापक रहेका प्रदीपकुमार देवकोटाले बताउनुभयो ।
विद्यालयमा अहिले शिशु कक्षादेखि कक्षा आठसम्म अंग्रेजी भाषामा पढाई हुँदै आएको छ ।
२०४६ सालमा विद्यालय खुल्दा जम्मा २४ जना विद्यार्थी थिए । अहिले विद्यालयमा ३ सय ५१ जना विद्यार्थी अध्ययनरत छन् ।जम्मा तीन जना दरबन्दी, १ जना राहत र १ जना बालबिकासको दरबन्दी भएको विद्यालयमा अहिले १३ जना शिक्षक शिक्षिकाहरु छन् । उनीहरुले सामुदायिक वन, तिहारमा भैलोबाट उठेको रकम स्कूलको आन्तरिक स्रोत र अभिभावकबाट उठेको सहयोग रकमबाट तलव खाइरहेका छन् ।
स्कूलले अभिभावकबाट मासिक शुल्क नभनी सहयोग शुल्क भनेर कक्षा शिशुका विद्यार्थीबाट ७५ र कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीहरुबाट १ सय ५० र कक्षा ६ देखी ८ सम्मका विद्यार्थिहरुबाट २ सय रुपैयाँ सहयोग शुल्क लिइरहेको प्रधानाध्यापक देवकोटाले बताउनुभयो ।
अंग्रेजी माध्यमबाट पढाई नहुँदा अभिभावकले आफ्नो छोराछोरीको पढाई र स्कूललाई खासै चासो नदिएपनि अंग्रेजी भाषाबाट पढाई हुन थालेपछि अभिभावहरुले खुबै चासोका साथ सल्लाह सुझाव दिने स्कूलका शिशु कक्षाका शिक्षक अमर रोकाले बताउनुभयो ।रोल्पाकै नमुना विद्यालयको रुपमा रहेको यो विद्यालयलाई दक्ष शिक्षक दरबन्दी, भौतिक सामग्री तथा निःशुल्क किताब उपलब्ध गराइदिए त्यहाँको पठनपाठनमा गुणस्तर थप्न सकिने देखिन्छ ।