HOME » » मन्डेलाको अन्तिम संस्कार हुँदै

मन्डेलाको अन्तिम संस्कार हुँदै

    


कुनु (दक्षिण अफ्रिका), मंसिर ३० - शताब्दीकै महामानवको परिचय बनाएका दक्षिण अपिकाका पूर्वराष्ट्रपति मन्डेलाको अहिले उनको पुर्ख्यौली भूमि कुनुमा अन्ति संस्कार हुँदैछ । अन्तिम संस्कारमा वेलायती राजकुमारसहित कुटनितिक नियोगका प्रतिनिधि पनि मण्डेलालाई अन्तिम श्रद्धाञ्जली दिन कुनु पुगेका छन् । मन्डेलाको ९५ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो ।कुनुस्थित पुर्ख्यौली घर नजिकै मण्डेलाको समाधी बनाइएको छ । हातमा राष्ट्रय झण्डा बोकेका हजारौ दक्षिण अफ्रिकीहरुले मण्डेलाको सम्मानमा नारा लगाइरहेका छन् ।अल्पसंख्यक गोराहरूको शासनबाट दक्षिण अफ्रिकालाई मुक्त गर्न शान्तिपूर्ण संघर्षको नेतृत्व गर्दै मुलुकका प्रथम अश्वेत राष्ट्रपति बनेका मन्डेला संसारभर गौरव र सहनशीलताको प्रतीक मानिन्थे । केही महिनादेखि फोक्सोको संक्रमणबाट पीडित मन्डेलाको जोहानेसबर्गस्थित उनकै निवासमा निधन भएको हो । 'बदला हैन मेलमिलाप' भन्ने सन्देशसहित रंगभेदी आन्दोलनको शान्तिपूर्ण निकासका लागि उनले गरेको पहल र आफूलाई जेल पठाउने गोराहरूलाई आफू शक्तिमा पुगेपछि उनले दिएको क्षमादानबाट सिंगो विश्वले पे्ररणा पाएको छ । मन्डेलाले दक्षिण अफ्रिकामा लोकतान्त्रिक बहुजातीय सरकार बनाउन काला-गोराबीचको भेद पालेर बसेको सत्तासँग दीर्घकालीन संघर्ष गरेका थिए । उनले मानवता, समानता र न्यायको युद्धमा २७ वर्ष जेल जीवन बिताएका थिए । उनले अल्पसंख्यक गोरा समुदायविरुद्ध सन् १९६४ मा वैचारिक युद्ध थालेका थिए । मन्डेलाको अथक प्रयासका कारण सन् १९९० मा रंगभेद पक्षधर शासकको संसारभर विरोध हुन थालेपछि उनीहरू कालाविरोधी ऐनहरू हटाउन बाध्य भए ।

सोही साल उनी रिहा भएका थिए । मन्डेलाले दक्षिण अफ्रिकाबाट रंगभेद हटाएर सहभागितामूलक व्यवस्था स्थापना गरेका थिए । सन् १९९६ मा दक्षिण अफ्रिकाको नयाँ संविधान जारी गर्न मन्डेलाले नेतृत्वकारी भूमिका खेले । उक्त संविधानले बहुमतको आधारमा मजबुत केन्द्रीय सरकार गठनको व्यवस्था गर्दै गोरालगायत अल्पसंख्यकमाथि हुने विभेदलाई निषेध गर्‍यो । दक्षिण अफ्रिकाको संविधान अहिले पनि विश्वकै उत्कृष्टमध्येमा पर्छ ।

     स्वतन्त्रताको निःस्वार्थ अभियानले मन्डेलालाई दक्षिण अफ्रिकाको राष्ट्रपतिसम्म पुर्‍याएको थियो । राष्ट्रपतिका रूपमा पहिलो कार्यकाल सकिएपछि उनले दोस्रो कार्यकाल नसम्हाली निर्वाचित उत्तराधिकारीलाई खुसीसाथ सत्ता हस्तान्तरण गरेका थिए ।

       संघर्षका बेला मन्डेलाका समर्थकहरूलाई गोराहरूले निकै अपमान गरे, यातना दिए र उनका धेरै साथीको हत्या गरियो । उनलाई लामो जेल सजाय भयो । यस्तो अवस्थामा पनि मन्डेलामा द्वेषको भावना रत्तिभर रहेन । सरकार गठनको मौका पाउँदा पनि उनले त्यो द्वेषलाई झल्कन दिएनन् । सबै खाले जातजाति र विश्वास राख्ने मानिसहरूको फ्युजनका रूपमा उनले सरकार गठन गरे, जसमा उनलाई पहिला अत्याचार गर्नेहरू पनि समावेश थिए । उनले गोरा समुदायकै डे क्लार्कलाई आफू राष्ट्रपति हुँदा उपराष्ट्रपति बनाए ।

     सोही योगदानका कारण मन्डेला र उनलाई सन् १९९३ को डिसेम्बरमा संयुक्त रूपमा नोबल शान्ति पुरस्कार दिइयो । 'एपरथेइड शासनको शान्तिपूर्ण अन्त्य र नयाँ लोकतन्त्रको आधारशिला स्थापना' का लागि यो पुरस्कार दिइएको हो । उनको कुशल नेतृत्वको पूर्वगोरा प्रतिद्वन्द्वीहरूले समेत प्रशंसा गरे ।