HOME » » मलेसियामा कार्यरत नेपालीको दुखान्त कथा

मलेसियामा कार्यरत नेपालीको दुखान्त कथा

रामचन्द्र नेपाल २८ मंसिर, क्वालालम्पुर । चितवनको भण्डारा-२ का भुवन चौधरी र नवलपरासीको गैँडाकोट-८ की शान्ता चौधरीको विहे भएको लगभग १७ वर्ष पूरा भयो । नारायणी नदी वारिका भुवन र पारिकी शान्ताको प्रेम चक्कर चल्दा धेरैले कुरा काट्थे । आजजस्तो व्याइफे्रण्ड र गर्लफ्रेण्ड भनेर हाकाहाकी भन्न सक्ने जमाना थिएन त्योबेला तर, मन मिलेपछि कस्को के नै पो लाग्छ र ! उनीहरुले डेढ वर्षको प्रेमलाई विवाहमा परिणत गरी छाडे । बिहे गरेको दुई वर्षमा छोरी रोशनीको जन्म भयो । हेर्दाहेर्दै छोरी हुर्कन थालिन् । १० कक्षासम्म पढेका भुवन र ७ कक्षा पढेकी शान्ताले आफूले धेरै नपढे पनि छोरीलाई राम्ररी पढाएर डाक्टर बनाउने सपना बनाए । सपनालाई साकार पार्न घरपरिवारको जिम्मेवारी बोकेका जेठो छोरा भुवन गाउँघरमै केही इलम नपाएपछि सन् २००५ मा प्यारी श्रीमती, छोरी र परिवारका अन्य सदस्यलाई छाडेर मलेसिया पुगे । 

              दिन, महिना र साल गन्दागन्दै भुवनले पाँच वर्ष मलेसियामा बिताए । लामो मलेसिया बसाइपछि उनी २०१० मा नेपाल फर्किए । तर, पाँच वर्षपछि स्वदेश र्फकंदा उनले धेरै कुरा फेरिएको पाए । गाउँ समाजमा चाल चलन फेरिएको थियो । सानैमा एक कक्षामा भर्ना गरिदिएकी छोरी रोशनी ६ कक्षामा पुगिसकेकस् थिइन् । साथीभाइहरु पनि आ-आआफ्नै काम धन्दामा व्यस्त थिए । विदेशमै हुँदा उनका दुई बहिनीको पनि विवाह भयो । घर फर्केका भुवनको फेरि मलेसियामै आउने इच्छा भयो । उनले सोचेको आर्थिक सपनालाई पाँच वर्षको मलेसिया बसाइले पूरा गर्न सकेन । क्वान्तानको मेन्तकापमा रहेको प्लाईवुड एसडिएन विएचडी भन्ने कम्पनीमा उनी फेरि २०१० मै आइपुगे, जुन कम्पनीमा उनले पाँच वर्ष बिताइसकेका थिए । मलेसिया आएलगत्तै उनले आफना भाइ शोभराज चौधरीलाई पनि सोही कम्पनीमा वोलाए । अनि श्रीमती शान्ता चौधरीलाई पनि उनले दश महिना अगाडिमात्रै सोही कम्पनीमा बोलाए । सबैले एकै ठाउँमा काम गर्दा उनीहरुलाई सजिलोमात्र भएन, कमाएको पैसा पनि बचत हुन थाल्यो । भुवन र शोभराज कम्पनीको डोजर चलाउथे । बाहिरबाट आएका ठूला ठूला काठहरु कम्पनीमा डोजरको सहायताले काम गर्ने ठाउँसम्म पुर्‍याउँथे भने शान्ताले कम्पनी भित्रै सानातिना प्लाइहरु मिलाउने काम गर्थिन् । बुबाआमा दुबै विदेशमै भए पनि छोरी रोशनी निकै मेहनतका साथ वीरेन्द्र मावि, वीरेन्द्रचोक भरतपुरमा कक्षा ९ मा पुगिन् । बेला बेलामा घरमा फोन गरेर राम्रोसँग पढ्न बा आमाले सल्लाह दिन्थे । उनी पनि सोहीअनुसार पढिरहेकी थिइन् । तर, ४ डिसेम्वर २०१३ का दिन यो परिवारमा दैव लाग्यो । सबैजना आ-आफ्नो काममा व्यस्त थिए । पालो अनुसार कम्पनीमा खाजा खाने समय आयो । शान्ता चौधरी पनि १२ बजेको नास्ता खाइवरि काममा पसिन् । त्यसपछिको घटनाबारे घाइते अवस्थाकी शान्ता यसरी सम्झन्छिन्- ‘म नास्ता खाईवरि काममा भर्खरै पसेकी थिएँ, एकजना नेपाली इन्द्रवहादुर राउतले फोर्कलिफ्ट चलाए, उनलाई फोर्कलिफ्ट चलाउन आउँदैनथ्यो, त्यही पनि चलाए उनले । सिधै ब्याक गरे । पहिला मेरो खुट्टामा लाग्यो, म जोडले कराएँ अनि फेरि अगाडि लगेर ब्याक गरे । उनले जानीजानी यस्तो गरे या के गरे, मैले त्यसपछि केही पनि थाहा पाइँन ।’ घटना हुँदा भुवन कम्पनीभन्दा केही बाहिर थिए । उनका साथीहरुले रक्ताम्ये शान्तालाई हातहातमै बोकेर कम्पनीबाहिरसम्म ल्याइपुरयाए । बाहिर निस्कँदा निस्कँदै भुवन पनि आइपुगे । शान्तालाई देख्नासाथ उनी छागाँबाट खसेजस्तो भए । गाडी चलाउने सीप भएको भए पनि कम्पनीमा त्यो बेला कुनै गाडी थिएन । करीव पाँच मिनेट काखैमा राखे । साथीहरुले गाडी ल्याउना साथ शान्तालाई नजिकैको किमलो अस्पताल पुर्‍याइयो । त्यतिबेला शान्ता निकै छट्पटाइरहेकी थिइन् । उनलाई डाक्टरहरुले तत्कालै अप्रेशन कक्षमा लगे । जतिबेला शान्ताको होस खुल्यो, त्यसबेला उनका वरिपरि नर्स नै नर्स थिए । उनको देब्रे खुट्टो घुँडाबाट मुनि गायव थियो । त्यो देख्दासाथ उनी निकै रोइन् । उनलाई सान्त्वना दिने नर्सहरु बाहेक अरु कोही थिएनन् । दाहिने खुटटा पनि रडको प्रयोग गरेर राखिएको थियो, चलाउन नमिल्ने गरी ।यतिबेला भुवन अस्पतालमै बसेर श्रीमतीको स्याहार सुसार गरिरहेका छन् । शुक्रबार बिहानसम्म घरैमा भएकी छोरी रोशनीले आमाको अवस्था बारे केही पनि थाहा पाएकी छैनन् । ‘छोरीको जाँच थियो विरामी मार्त्र भनेकी छु, अरु केही पनि भएको छैन भनेकी छु, माइतीतिर भने थाहा पाइसकेका छन् ।’-शान्ताले भनिन् । भुवनका जोडीले काम गर्ने कम्पनीमा यस्तो घटना भएको यो नै पहिलो हो । कम्पनीमा करीव २ सय श्रमिक छन् । ‘हाम्रो एउटा सपना थियो, त्यो सपना वीचैमा तुहिएको छ’,  भुवनले भावुक हुँदै भने- ‘लामो समय विदेशमा नबसौं, दुबैले कमाएर छिटै फर्कांै भन्ने लागेर दुबै मलेसिया आएका थियौं, भाग्यले साथ दिएन ।’ शान्तालाई फोर्कलिफ्टले ठक्कर दिने इन्द्रबहादुर राउत तत्कालै कम्पनी छाडेर भागेका छन् । उनलाई खोजी गरिदिन उनीहरुले सबैसँग अनुरोध गरिरहेका छन् । अहिलेसम्म कम्पनीले नै उपचार गराइरहेको भए पनि अस्पतालले उनीहरुलाई अब तिमीहरुले रुममै बसेर उपचार गराउनुपर्छ भनिरहेका कारण कसरी उपचार गराउने भन्ने उनीहरुलाई चिन्ताले सताएको छ । आफूलाई परेको पीडामा सहयोग गरिदिन शान्ता, भुवन, भाइ शोभराज र कम्पनीका सबैले नेपालीहरुसँग सहयोगको अपील गरेका छन् ।